![](http://arthikpage.com/wp-content/uploads/2022/03/photoless-444.jpg)
काठमाडौं- स्टक ब्रोकर्स एसोसिएसन र धितोपत्र ब्रोकर्स एसोसिएसन एकआपसमा एकीकृत हुन सहमत भएका छन् । बुधवार आयोजित एक कार्यक्रममा स्टक ब्रोकर्स एसोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एसोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एसोसिएसनका नामबाट सञ्चालन हुने बताइएको छ । शेयर बजारमा देखिएको विकृति र विसंगति हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्नुपरेको धितोपत्र ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए ।
‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीलाई अनुमतिपत्र दिएसँगै नयाँ र पुराना व्यवसायीबीच ध्रुवीकरण देखिएको थियो, त्यसलाई आजको समझदारीले समाप्त पारेको छ,’ ढकालले भने, ‘यसले पक्कै पनि हाम्रो पुँजीबजार र धितोपत्र व्यवसायीलाई नयाँ दिशानिर्देश गर्ने र यस अवसरले हामीलाई हाम्रो व्यावसायिकता अभिवृद्धि गर्दै हाम्रो हकहित संरक्षणमा एकीकृत भई काम गर्ने वातावरण सिर्जना गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
अध्यक्ष ढकालले आगामी दिनमा एउटै संस्थाका रुपमा अगाडि बढ्दै पुँजीबजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ता हित संरक्षणका लागि एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । करिब २३ वर्षपछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायीमैत्री बनाउन मर्जरपछिको संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले एकीकृत प्रयासले पुँजीबजारको विकास र विस्तारमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
स्टक ब्रोकर्स एसोसिएसनको मर्जर समितिमा संयोजक पूर्वअध्यक्ष सन्तोषराज मैनाली र सदस्यमा मदन पौडेल र सुयोग अधिकारी छन् । धितोपत्र ब्रोकर्स एसोसिएसनको मर्जर समितिमा संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यमा सुमनकुमार मल्ल र सन्दीप विक्रम राणा छन् ।