काठमाडौं– गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरुको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
बुधबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
अब महासंघले आफूसँग आबद्ध विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्न सहजीकरण गर्ने र महासंघ आबद्ध उद्यमीले गरिमा बैंकले केही समयअधि सार्वजनिक गरेको आर्कषक ब्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, सेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेत प्राप्त गर्ने बताइएको छ । सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क स्थापना गरी काम गर्ने बताइएको छ ।