![](http://arthikpage.com/wp-content/uploads/2023/09/transmission-line.jpg)
काठमाडौं– नेपालले आजबाट बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । भारतको सरकारी निकायले स्वीकृति दिएलगत्तै नेपालले पहिलोपल्ट बंगलादेशमा बिजुली निर्यात गर्न लागेको हो । तर, यो निर्यात सांकेतिक मात्रै हुनेछ ।
नेपाल, भारत र बंगलादेशबीच भएको सम्झौताअनुसार नेपालले आगामी ५ वर्षसम्म जुन १५ देखि नोभेम्बर १५ सम्ममात्र बंगलादेशमा बिजुली निर्यात गर्न सक्छ । आज (शुक्रबार) नोभेम्बर १५ भएकोले नेपालले एक दिनभन्दा बढी बंगलादेशमा बिजुली पठाउन सक्दैन ।
असोज १७ मा भारतको बाटो हुँदै नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने विषयमा नेपाल, भारत र बंगलादेशबीच काठमाडौंमा सम्झौता भएको थियो । त्यसपछि नेपालले भारतीय सरकारी निकायसँग सहमति मागेको थियो ।
बुधबार भारतबाट सहमति प्राप्त भएपछि नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक शुक्रबार बंगलादेशमा बिजुली निर्यात गर्न लागेको हो । बंगलादेशमा निर्यात हुने बिजुलीको भुक्तानी अमेरिकी डलरमा हुने प्राधिकरणको भनाइ छ । नेपालले पहिलोपटक डलरमा बिजुली बेच्न लागेको हो ।
शुक्रवार एक दिन नेपाली समयअनुसार अपराह्न १२ः४५ देखि राति १२ः०० बजेसम्म ४० मेगावाट बिजुली बंगलादेश जाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । ‘एक दिनको निर्यातबाट ३७ लाख ९३ हजार रुपैयाँ आम्दानी हुनेछ,’ उनले भने, ‘आजको दिन नेपालको जलविद्युत् क्षेत्रका लागि ऐतिहासिक बनेको छ ।’
प्राधिकरणले भारतीय अनुदानमा निर्मित आफ्नै स्वामित्वको २५ मेगावाट जडित क्षमताको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्मित २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बंगलादेश निर्यात गर्नेछ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुग्नेछ । त्यसका लागि भारतको मुजफ्फरपुरमा मिटर रहने बताइएको छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुग्नेछ ।
शुक्रवार दिउँसो १२ः४५ बजे तीनै देशका ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गरेर बंगलादेशमा बिजुली निर्यात गर्ने कार्यक्रम रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।