काठमाडौं– व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०८०–८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो सरकारको कुल राजस्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो ।

चौधरी ग्रुपअन्तर्गत दर्जनौं उद्योग, व्यवसाय सञ्चालनमा रहेको र तिनीहरुले छुट्टाछुट्टै कर बुझाउने हुँदा राजस्वमा उक्त घरानाको योगदान ठूलो भए पनि सरकारले कर दिवसका अवसरमा विभिन्न क्षेत्रका सबैभन्दा ठूला करदातालाई गर्ने सम्मानमा भने यो समूह पर्न सकेको छैन ।

‘चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभुमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ ।’

आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको पृष्ठभुमिमा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बढेको बताइएको छ । आर्थिक वर्ष २०७९–८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजस्वमा गरेको योगदान २ अर्ब ३८ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९–८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो ।

‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भनेका छन्, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौं ।’ चौधरी नेपाली कांग्रेसका प्रत्यक्षबाट निर्वाचित सांसद पनि हुन् ।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६–७७ मा ९ अर्ब ८७ करोड, २०७७–७८ मा १४ अर्ब २८ करोड, २०७८–७९ मा १७ अर्ब ७२ करोड, २०७९–८० मा १६ अर्ब १४ करोड र २०८०–८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय वृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताए । ‘हामीले प्रत्येक वर्ष राजस्वमा योगदान बढाउँदै लगेका छौं र आगामी वर्षहरूमा पनि यो वृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘चौधरी ग्रुपले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौं । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’

नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजस्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजस्वमा गरेको योगदान सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय