काठमाडौं— पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार काठमाडौंमा निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो । उनी २०४८ सालको निर्वाचनबाट बनेको प्रतिनिधिसभामा सभामुख थिए । उनी त्यसबेला काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

८३ वर्षका ढुंगानालाई घरबाट अस्पताल ल्याइपुर्‍याउँदासम्म उनको निधन भइसकेको अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीले जानकारी दिए ।

ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । गणतन्त्र स्थापनाका लागि भएको २०६२–०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि थिए ।

नेपाली कांग्रेसमा आबद्ध ढुंगाना पछिल्ला दशकहरुमा स्वतन्त्र रुपमा नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको पक्षपोषण गरिरहेका थिए ।
ढुंगाना २०४८ देखि ०५१ सम्म सभामुख थिए । २०५१ मा चुनाव लडे पनि जितेनन् । पछिल्लोपटक ०७४ मा भक्तपुर–२ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट पनि सफल हुन नसकेपछि उनी सक्रिय राजनीतिमा आउन छाडेका थिए ।

माओवादी विद्रोहको शान्तिपूर्ण समाधानमा पनि उनले धेरैपटक सहजकर्ताको भूमिका खेलेका थिए । सभामुख भएको समय बाहेक उनले राज्यसत्ताको सुविधा समेत लिएनन् ।

ढुंगाना २०२८ सालदेखि २०४६ सालसम्म सक्रिय कानुन व्यवसायीका रुपमा थिए । बहुदलीय व्यवस्थापछि पार्टी राजनीतिमा सक्रिय भए । वकालतमा आउनु अघि ढुंगाना केही समय शिक्षक समेत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय