काठमाडौं– सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सोमबार सार्वजनिक बिदा घोषणा गर्यो । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने र सोमबार शोक बिदा दिने निर्णय गरेको हो ।
तर सरकारले ढिला गरी सार्वजनिक बिदाको निर्णय गर्दा सरकारी कर्मचारी लगायत सर्वसाधारणले सास्ती पाएका छन् ।
बिहान १० बजे नै बैंक पुगेका सर्वसाधारण काम नभएर रित्तै हात फर्किन बाध्य भएका छन् ।
सरकारी स्कुलका शिक्षकहरु पनि विद्यालय पुगेपछि फिर्ता भएका छन् भने कतिपय सरकारी कर्मचारीले नै कार्यालय पुगेर फर्किनु परेको गुनासो गरेका छन् ।
सरकारले अघिल्लै दिन बिदा घोषणा गर्ने परम्परा तोडेर उही दिन बिदा दिने निर्णय गर्दा कर्मचारी र सेवाग्राहीले सास्ती पाएका हुन् ।
सरकारले शोक बिदा घोषणा गर्दा लहडवाजीमा गर्ने गर्दा सर्वसाधारण बारम्बार आक्रोशित हुने गरेका छन् । यसपालि पनि सरकारको अपरिपक्व निर्णयले सर्वसाधारणले दुःख पाएका छन् भने स्रोत, साधन र समय खेर गएको छ ।
सरकारको यो निर्णयको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । पत्रकार गजेन्द्र बुढाथोकीले बिहान १० बजेतिर ‘यतिबेला सार्वजनिक बिदाको निर्णय गरेछन्, अफिस जानेहरु अघि पुगिसके । कतिले त हाजिर बजाएर ढड्डा खोल्न थालिसके । अब घर फर्कन्छन् कि अफिसको काम गर्छन् ?’ भन्दै व्यंग्य गरेका छन् ।
श्याम आचार्यले ‘नालायकीको पराकाष्ठा, सबै अफिस पुगेपछि बिदा रे’ भन्दै आक्रोश पोखेका छन् ।
श्यामकृष्ण खकुरेलले प्रत्यक्ष रुपमा नभने पनि ‘यही पाराले देश बन्छ भन्ने कुरामा म एक रति नि विश्वस्त छैन’ भन्दै सरकारको पछिल्लो निर्णयप्रति संकेत गरेका छन् ।