काठमाडौं– लक्ष्यअनुरुप कर संकलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०–८१ मा २ खर्ब ५४ अर्ब ३ करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार ३ लाख १९ हजार ३८१ करदाताको २ खर्ब ५० करोड रुपैयाँभन्दा बढी बक्यौता देखिएको हो ।
‘आर्थिक वर्ष २०८०–८१ को अन्तसम्ममा आईपुग्दा कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कसमेत उठ्न बाँकी कुल बक्यौता रकम १ खर्ब ३० अर्ब २४ करोड छ भने कर कार्यालयबाट भएको कर निर्धारणप्रति विमति जनाउँदै आन्तरिक राजस्व विभागमा पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब २३ अर्ब ८० करोड छ,’ विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
विभागका महानिर्देशक रामप्रसाद आचार्य न्यायिक निरुपणमा जाँदा मुद्दा फर्स्योटमा ढिलाइ हुँदा बक्यौता पनि बढेको ढिलाइ । विभागले भने धमाधम पुनरावलोकनका मुद्दा फर्स्योट गर्दै आएको छ । ‘बक्यौता रकममध्ये ५५ देखि ६० प्रतिशत विभिन्न न्यायिक निकायमा विचाराधीन छन् । विभागमा प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण, विभिन्न अदालतमा मुद्दा छिनोफानो नहुँदा बक्यौता बढेको हो,’ उनी भन्छन् ।