काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासँग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले नेपाल भारत व्यापार सहजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मा समक्ष आग्रह गरेको हो ।
चेम्बरका अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अंगीकार गरे पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको बताए ।
भारतबाट हुने आयातमा खासै समस्या नरहे पनि निर्यातका क्रममा भान्सारमा सहजीकरण हुन नसकेको अध्यक्ष अग्रवालको भनाइ छ । पर्यटन आकर्षण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न समेत नवनियुक्त राजदूत शर्मालाई चेम्बरले सुझाव दिएको छ । चेम्बरका अध्यक्ष अग्रवालले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत् तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिए ।
व्यापार सहजीकरणका लागि रेलवे ट्रान्सपोर्टेसनमा सहजीकरण, भन्सारमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टिन ल्याब राख्नका लागि पहल गर्न समेत अध्यक्ष अग्रवालले नवनियुक्त राजदूत शर्मासमक्ष आग्रह गरे । उच्चस्तरीय क्वारेन्टिन ल्याब भन्सारमा नहुँदा भारतबाट आयत–निर्यात हुने वस्तुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष अग्रवालले राजदूत शर्माको ध्यानकर्षण गराए ।
राजदूत शर्मासंग अध्यक्ष अग्रवालले भने, ‘भारतमा दीर्घकालीन व्यापारिक लाभ प्राप्त गर्ने गरी निर्यात सहजीकरण गरिनुपर्छ । रेलवे तथा वाटरवेको प्रभावकारी सञ्चालनका लागि पहल कदमी गर्नुपर्छ ।’
नेपाली सामान बोकेका कन्टेनरहरु लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजीकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरे ।