फुङ्लिङ (ताप्लेजुङ)– कालो सुनको उपमा पाएको अलैंचीको मूल्य यस वर्ष उच्च बिन्दुमा पुगेको छ । बजारमा माग बढेसँगै अलैंचीको मूल्य उच्च बिन्दुमा पुगेको हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गुणस्तरका आधारमा अलैंची प्रतिमन (४० किलोग्राम) १ लाख ७ हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ । अलैंची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर र मध्यम गुणस्तरको अलैंची खरिदबिक्री भइरहेको छ ।
ठूलो दाना भएको, पुच्छर काटेको, धुलो रहित अलैंची प्रतिमन १ लाख ७ हजार र मध्यम गुणस्तरको सानो दाना, पुच्छर काटेको, धुलोरहित प्रतिमन १ लाख ४ हजारमा किनबेच भइरहेको छ । सामान्य गुणस्तर भएको अलैंची प्रतिमन १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
ताप्लेजुङमा साउनदेखि अलैंची टिप्न शुरू हुन्छ । लेकाली क्षेत्रमा अहिले पनि टिपाइ भइरहेको छ । मंसिर अन्तिम सातासम्म टिपाइ हुन्छ । यस वर्ष साउनदेखि अलैंची बजारमा आउन थालेको व्यवसायीको भनाइ छ । शुरुआती समयमै प्रतिमन ६० हजार रुपैयाँभन्दा माथि मूल्य पाएको किसान बताउँछन् ।
कृषि विज्ञहरूका अनुसार सामान्यतया बजारमा नयाँ उत्पादन आउन थालेपछि मूल्य घट्ने सम्भावना हुन्छ । यस वर्षको अवस्था भने उल्टो देखिएको छ । मूल्य निरन्तर वृद्धि हुँदै गएको छ । अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले भदौको पहिलो साताबाट बजारमा निस्किएको अलैंचीको मूल्य लगातार बढिरहेको बताए ।
ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैंची उत्पादन गर्ने जिल्लामा पर्छ । यहाँको करीब ४५ हजार हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रबाट करीब तीन हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ । यस वर्षको उत्पादन राम्रो भएकाले किसानहरू पनि उच्च आम्दानीको अपेक्षामा छन् ।
विज्ञहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा अलैंचीको माग बढ्नुले प्रत्यक्ष असर गरेको, भारत र चीनजस्ता प्रमुख आयातकर्ता देशमा महामारीपछि माग बढेको, नेपालको अलैंची उत्पादनमा प्रतिकूल मौसम र रोगका कारण केही कमी आउँदा आपूर्तिमा कमी भएकाले मूल्य बढाएको हो ।