काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन (तीन करोड) डलर बराबरको बोन्ड जारी गर्न लागेको बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, ‘चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं ।’

उनले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरी बोन्ड जारी हुने पनि उनले जानकारी दिए । पाँचवर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने उनले जानकारी दिए ।

उनले निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे । ‘यो दीर्घकालीन प्रकृतिका पुर्वाधारमा लगानी गर्ने बैंक हो, एकैपटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,’ खतिवडाले भने ।

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यससम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए ।

निफ्राले बैंक तथा वित्तीय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैंकहरुले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुने गरी बोन्ड तयार गरिएको छ । त्यस्तै, इन्स्योरेन्स बोन्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो बोन्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ । विशेष गरी जीवन बिमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्द्रित हुनेछ ।

नाफिज संवादमा अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि साप्ताहिक रुपमा संवाद कार्यक्रमलाई निरन्तरता दिने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय