काठमाडौं– सरकारले सुनचाँदी आयातमा लाग्ने भन्सार महशुल र दलहन आयातमा लिने गरको अग्रिम आयकर घटाएको छ ।

हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि अर्थ मन्त्रालयले सुनचाँदीको भन्सार महशुल र दलहन आयातमा लाग्ने अग्रिम आयकर घटाएको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार सुन आयातमा लाग्ने भन्सार दर २० बाट १० प्रतिशत कायम भएको छ । चाँदीको हकमा भन्सार दर १५ बाट घटाएर १० प्रतिशत कायम गरिएको छ ।

दलहनमा लाग्दै आएको १० प्रतिशत अग्रिम आयकर घटाएर २ दशमलव ५ प्रतिशतमा कायम गरिएको छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी पनि सुनचाँदीको भन्सार महशुल र दलहनको अग्रिम आयकर घटाइएको पुष्टि गरे ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको बजेटसँगै ल्याएको आर्थिक ऐनमार्फत १५ प्रतिशत रहेको सुन आयातमा लाग्ने भन्सार महशुल २० प्रतिशत पु¥याएका थिए । छिमेकी भारतले भने गत साउनमा ल्याएको बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महशुल घटाएर ६ प्रतिशत कायम गरेको थियो ।

फरक भन्सार महशुलले नेपालको तुलनामा भारतमा सुन सस्तो भएको थियो । नेपाल र भारतमध्ये जुन मुलुकमा वस्तु सस्तो पर्छ त्यहाँबाट महँगो पर्नेतिर तस्करी हुने गर्छ । सुनमा यस्तै हुन थालेको व्यवसायीको गुनासो थियो । खुला सिमानाका कारण सीमावर्ती क्षेत्रका नेपाली गहना बनाउन भारततिर जान थालेको व्यवसायीले बताएका थिए । भारत र नेपालमा सुनको भन्सार महशुलमा १४ प्रतिशत बिन्दुको भिन्नता हुँदा नेपालमा सुन आयात व्यापक घटेको सरकारी तथ्यांकले देखाउँछ । गत वर्ष साउनदेखि कात्तिकसम्ममा एक हजार किलो सुन आयात भएकोमा यसपालि १३२ किलो मात्र आयात भएको देखिन्छ ।

भारतबाट सुन तस्करी हुन थालेपछि वैधानिक आयात घटेको अनुमान गरिएको छ । गहना आयात पनि पोहोरको तुलनामा बढेको देखिएको छ । सुन आयातबाट उठ्ने राजस्वमा व्यापक गिरावट आएपछि भन्सार महशुल दर समायोजन गर्न सरकारलाई दबाब परेको थियो ।

दलहनमा पनि सरकारले चालू आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत भन्सारमा उठाइने अग्रिम आयकरको दर बढाएको थियो । आयातकर्ताले यसमा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय