काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णयसँगै झन्डै ११ महिनादेखि नेतृत्वविहीन बोर्डले अध्यक्ष पाएको छ ।

बोर्ड अध्यक्ष नियुक्ति सिफारिश समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनारायण श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिश गरेको थियो । मन्त्रिपरिषद् बैठकले यी तीनमध्येका सन्तोषनारायणलाई बोर्ड जिम्मा लगाएको हो ।

बोर्डमा अध्यक्ष नियुक्त नहुँदा लामो समयदेखि धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ)को स्वीकृति प्रक्रिया अवरुद्ध भएको छ ।

यसअघि अनेकौ खिचातानी स्वार्थ समूहको चलखेलले नियुक्ति प्रक्रिया रोकिएको थिया । नियुक्ति सिफारिस समितिले संक्षिप्त सूचीमा परेका पाँचजनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तर्वार्तामा सहभागी हुन बोलाए पनि नियुक्त गर्ने व्यक्तिको टुंगो लागिसकेको भन्दै तीनजना उम्मेदार गएका थिएनन् ।

संक्षिप्त सूचीमा परेका मुुक्तिनारायण र सन्तोषनारायणले भने सुरुमै प्रस्तुतीकरण र अन्तरवार्ता दिएका थिए । बाँकी तीनमध्ये दुईजना डा. नवराज अधिकारी र कृष्णबहादुर कार्की आइतवार कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागी भएका थिए । संक्षिप्त सूचीका अर्का उम्मेदवार चिरञ्जीवी चापागाईं भने यसपल्ट पनि अन्तर्वार्तामा सहभागी भएनन् ।

सन्तोषनारायणलाई अध्यक्ष बनाउने तयारी भइरहेको सूचना चुहिएपछि पहिलोपटकको अन्तरवार्तामा संक्षिप्त सूचीमा परेका पाँचमध्ये तीनजना सहभागी भएका थिएनन् ।

पर्याप्त उम्मेदवार अन्तरवार्तामा सहभागी नभएको भन्दै सिफारिश समितिले नियुक्ति प्रक्रिया खारेज गरेको थियो । त्यसविरुद्ध सन्तोषनारायणले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । अदालतले नियुक्ति प्रक्रिया नरोक्न आदेश दिएसँगै विगतमा अन्तर्वार्तामा सहभागी नभएकालाई पुनः सहभागी हुन अनुरोध गरिएको थियो ।

बोर्डमा गत वर्ष पुस २० देखि अध्यक्ष पद रिक्त छ । हाल बोर्डमा अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालकले अध्यक्ष समेत भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय