काठमाडौं– यही मंसिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।
मंसिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ ३०० र भिआइपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ ३०० र भिआइपीतर्फ ५०० रुपैयाँ मूल्य तय गरिएको छ ।
एनपिएलको प्लेअफका खेल हेर्ने दर्शकहरूले सामान्यतर्फ ५०० र भिआइपीतर्फ ७०० रुपैयाँको टिकट काट्नुपर्नेछ । त्यस्तै, फाइनल खेलका लागि भने सामान्यतर्फ ५०० र भिआइपीतर्फ १ हजार रुपैयाँ टिकटको मूल्य तोकिएको क्यानले जनाएको छ ।
सिजनल पासको हकमा २० प्रतिशत छुटसहित सामान्यतर्फ ४ हजार ४८० र भिआइपीतर्फ ८ हजार २४० मूल्य निर्धारण गरिएको छ ।