काठमाडौं– धितोपत्रको दोस्रो बजारमा सेयर मूल्य उच्च रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ ।

यो बैंकको निष्क्रिय कर्जाको अनुपात झन्डै ४१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । यो बैंकले तोकिए बमोजिम पुँजीकोष अनुपात समेत कायम नगरेको केन्द्रीय बैंकको भनाइ छ ।

ख वर्गको यो बैंक समस्याउन्मुख देखिएका कारण निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई मंगलबारबाट लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

बैंक समस्याग्रस्त बन्दै गए पनि पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा यस बैंकको शेयर मूल्य निरन्तर बढिरहेको थियो । सोमबार मात्रै पनि यसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ५.६६ प्रतिशतले बढेर ८४० रुपैयाँ कायम भएको थियो ।

सोमबार भने साढे ११ बजे यो समाचार तयार गर्दै गर्दा उक्त बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ६.८२ प्रतिशतले घटेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर कारोबार रोक्न पत्राचार नगरेसम्म दोस्रो बजारमा शेयर कारोबार रोकिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय