![](http://arthikpage.com/wp-content/uploads/2024/10/Jewellery1.jpg)
काठमाडौं– सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको संख्या बढेको छ । सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वाभाविक रहेको बताउँछन् । ‘बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन्,’ उनले भने । सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उनको भनाइ छ ।
पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार ५०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँ कारोबार भएकोमा सोमबार घटेर प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज सुन प्रतितोला २ हजार ६०० रुपैयाँले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशंकबीच सरकारले भन्सार दर घटाएको हो ।
हिजो र आज दुई दिन काठमाडौंको न्युरोड क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी महासंघका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भीड देखिए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउँछन् । ‘हरेक पसलमा ग्राहकको भीड देखिए भन्ने जानकारी आएको छ । तर कारोबारको यकिन तथ्यांक उपलब्ध छैन । महासंघले कारोबारको तथ्यांकसमेत मागेको थियो । तर व्यापारीले दिँदैनन्,’ उनले भने ।
सुन आयातको अधिकार वाणिज्य बैंकहरुले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरुले सुन आयात नगरेको महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन् । ‘बैंकहरुले आयात गरेका छ्रैनन् । भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ,’ उनले भने । नेपालमा सुन आपूर्ति, आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासंघमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ । जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् ।
बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरुप बिक्री गरेको सुनको मूल्यको ०.२५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ । बैंकहरूले निर्यातकर्तालाई सुनका गर–गहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् । बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ ।
भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार ९४७ किलोग्राम सुन आयात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्र १ अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको १३३ किलोग्राम सुन आयात भएको छ । जसबाट राज्यले २८ करोड ५५ लाख ७ हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ । गत आर्थिक वर्ष २०८०–८१ मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ बराबरको २ हजार ६५२ किलोग्राम सुन आयात भएको विभागको तथ्यांकमा देखिन्छ । यसबाट सरकारले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको थियो ।