काठमाडौं– धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार नेपाल राष्ट्र बैंकले समस्याउन्मुख भनेर निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको वित्तीय संस्थाको सेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याउन्मुख भन्दै निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ । उक्त बैंकको निष्क्रिय कर्जा ४१ प्रतिशत हाराहारी पुगेको छ । तर बुधबार यही कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
बुधबार विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह ९.२७ र विकास बैंक समूह ३.१८ प्रतिशतले बढेको छ ।
यस दिन सेयर बजारको तथ्यांकीय सूचक नेप्से ३९.७० अंकले बढेर २७५६.३६ बिन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक १.४६ प्रतिशतले बढेको हो ।
३१६ कम्पनीको १ करोड ७१ लाख ४३ हजार ५८४ कित्ता सेयर ८९ हजार पटक खरिद विक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँको कारोबार भएको छ ।