काठमाडौं– लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बोर्डको ६०औं बैठकले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृतिको निर्णय गरेको हो ।
यसैगरी बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७५० मेगावाटबाट बढाएर ८०० मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय गरिएको छ ।