काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनको आयातमा थपेको भन्सार महशुल पुनरावलोकन गरी १० प्रतिशत कायम गरेकोमा तीनवटा संस्थाले स्वागत गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले बिहीबार एक विज्ञप्ति प्रकाशित सुनको भन्सार महशुल समायोजन गर्ने सरकारी निर्णयप्रति आभार प्रकट गरेका हुन् ।
सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत सुनको आयातमा लगाउदै आएको भन्सार शुल्क बढाएर २० प्रतिशत पुर्याएको थियो ।
यसबाट सम्पूर्ण गहना व्यवसाय नै धराशयी हुने अवस्था आएकोले पुरानै दर कायम राख्नुपर्ने साथै आवश्यक कानुन तर्जुमा एवं निर्देशिका कार्यान्वयन हुनुपर्ने लगायतका माग राखी यी महासंघहरुले संयुक्त रुपमा शान्तिपूर्ण विरोधका कार्यक्रम गरी नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए ।
यस क्षेत्रले निर्यात प्रवर्द्धन, रोजगारी विस्तार, राजस्व अभिवृद्धि आदिमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको अवस्थामा भन्सार शुल्कमा गरिएको समायोजनले सुनचाँदी क्षेत्र साथ–साथै नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनीहरुको अपेक्षा छ ।