काठमाडौं– आफू एचआइभी संक्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर । लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उनीको रगतमा एचआइभी देखिएको थियो ।

संक्रमण पुष्टि भएको पाँच वर्षसम्म पनि उनी लागुऔषधबाट मुक्त हुन सकेनन्। २०६३ सालमा एक पुनःस्थापना केन्द्रको सहयोगमा उनी दुर्व्यसनबाट मुक्त भए। त्यसयता खड्का विभिन्न सामाजिक संस्थामा आबद्ध भइ संक्रमितका हितमा वकालत तथा परामर्श आएका छन् । एचआइभी संक्रमण भएकै कारण विभेद र लाञ्छना भोग्नुपरेको संक्रमितसँग धेरै अनुभव छन् ।

२३ वर्षअघि खड्काको एक दुर्घटनामा हात भाँचिएको थियो । उनी उपचारका लागि अस्पताल पुग्दा रिपोर्टमा संक्रमित भएको थाहा पाएपछि स्वास्थ्यकर्मीले ‘प्लाष्टर’ गर्नुपर्नेमा ‘ब्यान्डेज’ मात्र गरेर पठाइदिएका थिए । जसले गर्दा उनको एउटा हात अझै राम्रो अवस्थामा छैन । खड्का एचआइभी संक्रमितप्रतिको दृष्टिकोण पहिले र अहिलेमा आकाश जमिनको फरक रहेको बताउँछन् । उनी भन्छन्, ‘मलाई संक्रमण पुष्टि भएको त्यो समय र अहिले फरक छ । समाजमा लाञ्छना भोगिरहेका होलान् तर पहिलेभन्दा निकै कम छ ।’ उनका अनुसार नियमित औषधि सेवन, स्वस्थ्य जीवनयापन तथा पौष्टिक आहारले एचआइभी संक्रमित सक्रिय जीवन बाँच्न सक्छन् । उनी भन्छन्, ‘एड्सबाट सुरक्षित रहन परिवार तथा समाजलाई सजग गराएको छु । सबैले सुरक्षित व्यवहार गर्नुपर्छ । मेरी श्रीमती र दुई जना बच्चा छन् । उनीहरु कसैमा पनि संक्रमण छैन ।’

राष्ट्रिय एचआइभी तथा एड्स महासंघ नेपालका अध्यक्षसमेत रहेका उनले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताए। महासंघका संक्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ ।

२६ वर्षीया यशोदा तिमिल्सिनाले आफूमा एचआइभी संक्रमण पुष्टि भएपछि आफू जस्तै थुप्रै संक्रमितलाई यसबारे पैरवी र परामर्श दिँदै आएकी छिन् । उनी भन्छिन्, ‘पहिले यसलाई प्राणघातक मानिन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । संक्रमण हुने बित्तिकै डराउनु र आत्तिनु पर्दैन किनकि लामो जीवनयापन गर्न औषधि उपलब्ध छन् ।’

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्यांघअनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार ३०० व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ ।

सन् २०२३ मा ४५७ व्यक्तिमा एचआइभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । सन् २०२३ मा मात्रै २२१ व्यक्तिको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ । नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि बिदेसिनेहरु छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीमा संक्रमण दर अरु जोखिम समूहभन्दा उच्च छ ।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५ प्रतिशत एचआइभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । यो वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ नारासाथ ३७औं एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय