वीरगञ्ज (पर्सा)– चालु आर्थिक वर्षको ४ महिनामा सशस्त्र प्रहरीले पर्सा जिल्लामा भन्सार छली गरेर भित्र्याइएको १५ करोड १८ लाख मूल्यको वस्तु नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमालका अनुसार सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किरानाका सामान पक्रिने क्रम बढेको छ । उनी भन्छन्, ‘पछिल्लो समय त सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर पनि खटाएर चेकिङलाई अझै प्रभावकारी गर्ने कोसिस गरिरहेका छौं ।’

सशस्त्र प्रहरी बल पर्साले चालु आर्थिक वर्षको ४ महिनामा १२ करोड ५३ लाख ८८ हजार ९३३ रकम मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटर पाटर््स, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

त्यस्तै सोही अवधिमा २ करोड ६४ लाख ३० हजार १४९ मूल्य पर्ने बिलबिजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले बरामद गरेको रेकर्ड हेर्दा सबैभन्दा धेरै लत्ताकपडा, मेसिनरी पार्टपुर्जा लगायतका सामान तस्करी हुने गरेको देखिन्छ । सशस्त्र प्रहरीले सोही अवधिमा जिल्लामा १४ लाख ५१ हजार रुपैयाँ मूल्य पर्ने ५३१ क्युफिट काठ पनि बरामद गरेर डिभिजन वन कार्यालय पर्सालाई बुझाएको छ ।

त्यस्तै सोही अवधिमा २३६ किलोग्राम गाँजा, १४.९६ किलोग्राम लागुऔषध चरेश पनि बरामद गरेको थियो । सशस्त्र प्रहरीले जिल्लामा आर्थिक वर्ष २०८०–८१ मा भने ३४ करोड २७ लाख ७८ हजार ३३३ रुपैयाँ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छलीका सामान बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय