बागमती– हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मंसिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगका विभिन्न उपकरण मर्मतको काम नसकिँदा उत्पादन अझै सुरु हुन नसकेको हो ।

‘उद्योगको क्लिंकर मेसिन लगायतका उपकरण मर्मत कार्य अझै भइरहेकै छ,’ उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौं ।’

तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ । उपकरण मर्मत सम्पन्न हुने बित्तिकै पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए । उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।

उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मतसम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीव्र रुपमा भइरहेकाले छिटै सकिने र त्यस लगत्तै उत्पादन सुरु गर्ने तयारी भएको बताए ।
‘हामीलाई कच्चा पदार्थको अभाव छैन,’ अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ । थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेको छ, त्यसैले कोइलाको समस्या छैन ।’

आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले सो अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय