बेइजिङ– नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ ।
बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष ली सुशेले हस्ताक्षर गरेका हुन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौता भएको हो ।
बीआरआई अन्तर्गतका परियोजनाका लागि चीनसँग ऋण लिने कि अनुदान भन्ने विवादबीच बीआरआई सहकार्यको टुंगो लागेको हो।
सत्तारुढ घटक नेपाली कांग्रेस बीआरआईअन्तर्गतका परियोजनाहरु अनुदानमा बन्नुपर्ने मान्यतामा छ । बीआरआई फ्रेमवर्कको विस्तृत विवरण भने आउन बाँकी छ।