
काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५.९३ अंकले घटेर २ हजार ६८९ को बिन्दुमा कायम भएको हो । यो १.६७ प्रतिशतको गिरावट हो ।
आज ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता धितोपत्र ८१ हजार ४०४ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४७ करोड ३ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २१४ कम्पनीको सेयर मूल्य घटेको छ । सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी जीवन बिमा समूह ३.०७ र व्यापार समूह २.१३ प्रतिशतले घटेको छ । बैंकिङ १.८६, विकास बैंक १.०४, वित्त १.८४, होटल तथा पर्यटन १.८४, जलविद्युत् १.९८ र लगानी समूह १.३३ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन १.३४, लघुवित्त १.५०, म्युचुअल फन्ड ०.५९, निर्जीवन बिमा ०.८३ र अन्य समूह ०.८१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
तीनवटा कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको हो । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख ६१ हजार ५६९ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा लक्ष्मी उन्नति कोषको २० लाख ५ हजार १०० कित्ता किनबेच भएको छ ।