काठमाडौं– सिरियाको प्रतिपक्षी सेनाले आइतबार मुलुकलाई राष्ट्रपति बसर अल–असदबाट मुक्त गराएको घोषणा गरेको छ । यसअघि प्रतिपक्षी फौज राजधानी दमास्कस प्रवेश गरेको थियो ।
पूर्वराष्ट्रपति बसर अल–असद राजधानी दमास्कसबाट भागेको बताइएको छ । उनलाई कुन मुलुकले शरण दिन्छ भन्ने यो समाचार तयार गर्दासम्म टुंगो लागेको छैन ।
अल–असद परिवारको ५३ वर्षभन्दा बढी समयको शासनको आश्चर्यजनक पतनलाई ऐतिहासिक घटनाको रुपमा चित्रण गरिएको छ । सिरियाली जनताले अल–असद शासनविरुद्ध शान्तिपूर्ण आन्दोलन उद्घोष गरेको १४ वर्षपछि सफलता पाएको छ । उक्त आन्दोलनलाई अल–असद प्रशासनले हिंसात्मक दमन गर्दा सिरियामा रक्तपातपूर्ण गृहयुद्ध सुरु भएको थियो ।
एक साता अघिसम्म अल–असद प्रशासनले मुलुकको ठूलो हिस्सामा आफ्नो नियन्त्रण कायम राखेको थियो ।
अल–असदको पतनसँगै उनको शासनकालमा देश छाडेका शरणार्थीहरु धमाधम स्वदेश फर्कन थालेको खबर आएको छ । जर्मनी र फ्रान्सले अल–असदको पतनपछि त्यहाँ कट्टरपन्थी शासन सुरु हुने हो कि भनी चिन्ता प्रकट गरेका छन् ।
सिरियाली प्रधानमन्त्रीले शक्ति हस्तान्तरणमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।