तनहुँ– एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ ।

एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ सम्मिलित टोलीले सोमबार आयोजनाको स्थलगत अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।

टोलीले प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो मुख्य बाँध निर्माण, प्याकेज–२ अन्तर्गत भूमिगत विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु, मुख्य सुरुङ निर्माणस्थलको अनुगमन गरेको थियो ।

कम्पनी तथा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत रुपमा छलफल गरी टोलीले निर्माण प्रगति, बेहोरिरहेका समस्या, निर्माण तालिकालगायतका विषयमा जानकारी लिएको थियो ।

तनहुँ हाइड्रोपावर लिका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठ र आयोजना प्रमुख श्यामजी भण्डारीले निर्माण प्रगति, बेहोरिरहेका समस्यालगायतका विषयमा टोलीलाई जानकारी गराएका थिए ।

टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्यालगायतका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँगसमेत छलफल गरेको थियो । जग्गासम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरिएको थियो ।

आयोजनाले कार्यान्वयनमा ल्याएका वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरुको कार्यान्वयन र प्राविधिक पक्षमा एडिबीको विशेष चासो रहेको उल्लेख गर्दै नियोगका निर्देशक कुश्वाले हाल देखिएका समस्या तत्काल समाधान गरी तोकिएकै समय र गुणस्तरमा निर्माण सम्पन्न आग्रह गरे।

सुख्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान र सहयोग रहने उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा सम्पन्न गर्न सबै पक्ष जिम्मेबार भएर लाग्नु पर्ने बताए ।

विद्युतगृह, प्रसारण लाइनलगायतका संरचना निर्माण अन्तिम चरणमा रहेको तर बाँध निर्माण चुनौतीपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै घिसिङले बाँध निर्माणलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाउन सम्बन्धित पक्षहरुलाई निर्देशन दिए।

मुख्य संरचनाहरुलाई तीन प्याकेजमा विभाजन गरी निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सीमाना भएर बग्ने सेती नदीमा १४० मिटर उचाइको मुख्य बाँध निर्माण गरिने छ । प्याकेज–१ अन्तर्गत मुख्य बाँधको तल्लो तह क्षेत्रमा ग्राउटिङ भइरहेको छ । क्रसर तथा चिस्यान प्लान्ट स्थापना गरी तयारी अवस्थामा राखिएको छ ।

मुख्य बाँध निर्माण छिटै सुरु गर्न लागिएको छ । प्याकेज–१ को निर्माण प्रगति करिब ३६ प्रतिशत छ । प्याकेज–१को निर्माण सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ ।

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलेर) गरी कंक्रिट लाइनिङ भइरहेको छ । मुख्य सुरुङबाट गएको पानीलाई २१३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने छ । यसका लागि पेनस्टक पाइप जडान अन्तिम चरणमा छ । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ ।

विद्युतगृहका सिभिल संरचना निर्माण अन्तिम चरणमा छ । स्वीचयार्ड निर्माण, विद्युतगृहमा रहने उपकरणहरु जडानलगायतका कार्यहरु भइरहेका छन् । टेलरेस निर्माण सम्पन्न भएको छ । यस प्याकेजको समग्र भौतिक प्रगति करिब ६२ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हालिएको छ भने ६९ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय