काठमाडौं– पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने उच्च अंकको वृद्धि देखिएको छ ।
आज नेप्से परिसूचक ४५ दशमलव ८८ अंकले बढेर २७१५.७१ को बिन्दुमा कायम भएको हो । यो १.७१ प्रतिशतको वृद्धि हो ।
परिसूचक बढे पनि कारोबार रकम भने ५ अर्ब रुपैयाँमा खुम्चिएको छ । आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर ५६ हजार ३५० पटक खरिदबिक्री हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै समूहको उपसूचक बढ्दा म्युचुअल फन्ड उपसमूह भने ०.३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी ३.४३ प्रतिशतले बढेको छ । विकास बैंक १.६३, वित्त १.८३, होटल तथा पर्यटन १.०५, जलविद्युत् १.९६ र लगानी समूह ०.७९ प्रतिशतले बढेको छ ।
जीवन बिमा समूह १.०७, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.४२, निर्जीवन बिमा ए१.०३, व्यापार १.५६ र अन्य समूह ०.५७ प्रतिशतले बढेको हो ।
न्यादी हाइड्रोपावर लिमिटेडको सयर मूल्य आज सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत रहेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको ३६ करोड १५ लाख २ हजार ४४३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।