काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताउनुभएको छ । सुदूरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाइ तथा शुभकामना दिने क्रममा निर्वतमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत् विकासमार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताए ।
मल्लले भने, ‘राजनीतिक दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सधैं केन्द्रमा छ । प्रदेशमा भएको प्राकृतिक स्रोत, कृषि, सांस्कृतिक रहनसहनलाई प्रवर्द्धन गर्न हामी व्यवसायीको पनि महत्त्वपूर्ण योगदान रहिआएको छ ।’
प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अपेक्षित फड्को मार्न नसकेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा रहेको कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमका जिल्लाहरुबाट सामान्य मजदुरीका लागि समेत भारत जानुपर्ने बाध्यतालाई तत्काल हटाउने गरी औद्योगिक वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले सुदूरपश्चिमको स्थानीय कृषि उपजको बजारीकरण गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरुमा उत्पादन हुने वस्तुको व्यावसायिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने र अन्य प्रदेशका मुख्य मुख्य सहरहरुमा बजारीकरण गर्नुपर्नेमा उपाध्यक्ष पाण्डेले जोड दिए । प्रदेशका विभिन्न क्षेत्रमा
निजीक्षेत्रको लगानी आकर्षित गर्न चेम्बर अफ कमर्सले पनि सहजीकरण गर्ने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न लगानीको वातावरण र नीतिगत स्थिरताको आवश्यक्ता रहेको उपाध्यक्ष पाण्डेको भनाइ छ ।