
वीरगञ्ज ((पर्सा)– देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
डिजेल आयात घटेसँगै राजस्व पनि १५.१६ प्रतिशतले घटेको छ । आव २०८१–८२ को चार महिनामा २१ अर्ब ८४ करोड ८ लाख ७६ हजारको २ लाख ४६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३० अर्ब १७ करोड ७६ लाख ४८ हजार रुपैयाँको डिजेल आयात भएको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकङ्कलनमा असर परेको बताए ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै पैठारी हुँदै आएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालु आर्थिक वर्षको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, ‘सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।’
त्यसैगरी, चालु आवको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजार रुपैयाँको १ लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।