काठमाडौं– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको घटाएको छ । निगम सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ तोकेको छ ।

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ ।

निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललाई राखेको छ ।

डिपोदेखि १५ किलोमिटर सम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा विक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय