राजविराज (सप्तरी)– सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो ।

राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालीन सेवा सुरु भएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले राजविराजबाट पोखरालगायत गन्तव्यमा सिधा उडान गर्ने गरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए । यसअघि मन्त्री पाण्डेले एयरफिल्ड लाइटिङ सिस्टमको उद्घाटन गरेका थिए ।

सो अवसरमा जनमत पार्टीका अध्यक्ष सीके राउतले राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुनु गौरवको विषय भएको बताए ।

‘सप्तरीबासीका लागि गौरवको दिन हो, अब, उडान संख्या बढाएर सेवालाई निरन्तरता दिनेतर्फ सबैले ध्यान दिन जरुरी छ । यो अवस्थामा ल्याइपुर्याउन सहयोग गर्ने सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु”, उनले भने । प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र कोशी क्षेत्रको पर्यटन विकासमा निम्ति यो सुरुआत महत्त्वपूर्ण कदम भएको अध्यक्ष राउतले बताए ।

राजविराज विमानस्थलमा यसअघि बुद्ध एयरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एयरले गत शुक्रबार (१३ डिसेम्बर) रात्रिकालीन उडानको परीक्षण गरेको थियो । उक्त उडान सफल भएसँगै बुद्ध एयरले आज काठमाडौं– राजविराजको रात्रिकालीन व्यवसायिक उडान सुरु गरेको हो ।

योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको संख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौं, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरु भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द हुने र डिले हुने समस्याबाट यात्रुले छुटकारा पाउनेछन् ।

राजविराज विमानस्थल चन्द्रगढी, विराटनगर तथा जनकपुरबाट नजिक पर्ने हुँदा यसलाई आवश्यकताको बेला वैकल्पिक विमानस्थलका रुपमा पनि प्रयोग गर्न सकिने बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताए । राजविराजमा रात्रिकालीन उडानले यस भेगको उडानलाई थप सुरक्षित र सुदृढ बनाएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय