काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको नागरिक बचतपत्र शतप्रतिशत विक्री हुन लाग्दा पनि वैदेशिक रोजगार बचतपत्रमा अझै लगानीकर्ताको चासो न्यून देखिएको छ ।
कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार गत मंसिर १२ गते जारी भएको २ अर्ब रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) बुधवारसम्म १ अर्ब ९० करोड रुपैयाँ हाराहारीमा खरिदका लागि आवेदन परिसकेको छ । यही पुस १४ गतेसम्म विक्री खुला रहेको नागरिक बचतपत्र सो समयअगावै पूर्ण विक्री भएर बन्द हुने अवस्था देखिएको उनको भनाइ छ । ‘यसअघि न्यून विक्री हुने नागरिक बचतपत्रमा अहिले लगानीकर्ताको निकै चासो देखियो,’ उनले भने ।
नागरिक बचतपत्रको उच्च माग देखिए पनि त्यसभन्दा बढी ब्याज पाइने वैदेशिक रोजगार बचतपत्र भने निकै कममात्र विक्री भएको छ । ‘वैदेशिक रोजगार बचतपत्रमा करिब ८५ लाख रुपैयाँको मात्रै आवेदन परेको छ । नागरिकमा वित्तीय साक्षरता र पहुँच कमजोर भएर बचतपत्रबारे जानकारी नहुँदा न्यून विक्रीको अवस्था आएको हुन सक्छ,’ सूचना अधिकारी पोखरेल भन्छन् ।
कार्यालयले गत मंसिर १२ गतेबाट २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र–२०८६ (क) र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ (क) निष्कासन गरेको थियो । यी दुवै पाँच वर्ष अवधिका बचतपत्र हु् । नागरिक बचतपत्रभन्दा वैदेशिक रोजगार बचतपत्रको ब्याज बढी छ । नागरिक बचतपत्रमा साढे ७ र वैदेशिक रोजगार बचतपत्रमा साढे ८ प्रतिशत ब्याज तोकिएको छ ।
पहिला आवेदन दिनेले पहिले खरिद गर्न पाउने बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुने कार्यालयले जनाएको छ । घरीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा बचतपत्र खरिद गर्न सकिन्छ । यी दुवै बचतपत्रको विक्री यही पुस १४ गतेसम्म खुला छ ।
यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा निकै आकर्षक भए पनि यसको महत्त्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन । लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पूँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन् । जबकि लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’को चर्चा भने अत्यन्त कम छ ।