काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप निष्कासन (एफपीओ) गरेको सेयर खरिदका लागि आवेदन खुलेको छ ।

कम्पनीले लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउन थप निष्कासन गरेको हो ।

महुलीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर निष्कासन गरेको छ । प्रतिआवेदक १० कित्ताका दरले यो सेयर ४७ हजार ५४४ जनाले पाउनेछन् ।

यो सेयरका लागि लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस १९ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

एफपीओ निष्कासनपछि महुलीको चुक्ता पुँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय