वीरगञ्ज (पर्सा)– वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपांग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड ३ लाख ३६ हजार रुपैयाँ मूल्य पर्ने ४८२ जीप, कार र भ्यान आयात भएका छन् ।
गत आवको पाँच महिनाका तुलनामा चालु आवको सोही अवधिमा संख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो । गत आवको सोही अवधिमा १ अर्ब २० करोड १४ लाख २ हजार रुपैयाँ मूल्य पर्ने ७७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले २ अर्ब ८० करोड ९१ लाख राजस्व संकलन गरेको थियो ।
इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपांग्रे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्यांकले देखाएको छ । चालु आवको पाँच महिनामा यो नाका हुँदै १४ करोड ७८ लाख ६ हजार रुपैयाँ मूल्य पर्ने ९७ विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ ।
गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा विद्युतीय सवारीसाधन संख्याका आधारमा आयात ५९.०७ प्रतिशत र राजस्व संकलनका आधारमा ५८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ । गत आवको सोही अवधिमा ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने २३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा कार्यालयले २० करोड ३५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।