काठमाडौं– नेकपा (एमाले)ले भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पुस १० गते सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार रहनुभएका रावललाई हटाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएको पार्टीको संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताए ।

‘पार्टीको १०औं महाधिवेशनमा उहाँलाई उपाध्यक्ष बस्न आग्रह गरियो । उहाँले मान्नु भएन । उपाध्यक्षमा नबसेपछि अध्यक्षको उम्मेदवार बन्नुभयो । त्यसपछि उहाँ केन्द्रीय सदस्यमा पनि नआएपछि हाम्रो व्यवस्थाअनुसार उहाँ सल्लाहकार रहनुभयो,’ उपमहासचिव ज्ञवालीले भने, ‘त्यो सल्लाहकारको भूमिका पनि पूरा गर्नु भएन । र उहाँका अभिव्यक्ति पार्टीलाई बलियो बनाउनुभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएका हुनाले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’

यस्तै पार्टीले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई छ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

उपमहासचिव ज्ञवालीले पाण्डे र तिमिल्सेनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती स्वीकार नगरेकाले जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए ।

‘उहाँहरू दुवैले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा प्रक्रियासंगत भएन भनेर सोधिएको थियो । स्पष्टीकरणमा उहाँहरूले पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती महसुस देखिएन,’ उपमहासचिव ज्ञवालीले भने, ‘त्यही भएर उहाँहरूलाई पार्टीको निर्देशनमा थप चल्न र जिम्मेवारीबाट छ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय