वीरगन्ज– वीरगन्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात १.१३ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
सो अवधिमा राजस्व संकलनमा पनि ६.९१ प्रतिशतले गिरावट आएको छ । आव २०८१–८२ को ५ महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको ३ लाख ६६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको थियो ।
गत आवको सोही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको ३ लाख ७० हजार ९२० किलोलिटर डिजेल आयात भएको थियो । चालु आवको ५ महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ ।
चालु आवको ५ महिनाको अवधिमा १६ अर्ब २१ करोड २ लाख २७ हजार पर्ने १ लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात भएको छ ।
गत आवको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने १६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो । गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलको आयात १६.२३ प्रतिशत र राजस्वको आधारमा भने १२ दशमलव ५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै पैठारी हुँदै आएको छ । नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ ।
यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरु भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताए ।