काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले पुस १७ गते बिहानबाट लागू हुने गरी पेट्रोलको १ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको हो ।

निगमले हवाई इन्धनको मूल्य भने आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर १५ अमेरिकी डलरले घटाएको छ ।

अब काठमाडौं उपत्यका, पोखरा र दिपालयमा पेट्रोल लिटरको १६३ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १६२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

डिजेल र मट्टीतेलको लागि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १५० रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा १५२ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ ।

हवाई इन्धनको नयाँ मूल्य काठमाडौंको लागि एक किलोलिटरको ९६० अमेरिकी डलर कायम भएको छ । हवाई इन्धनको मूल्य पोखराको लागि ७९३ र भैरहवाको लागि ७७८ अमेरिकी डलर तोकिएको निगमले बताएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने निगमले यथावत राखेको छ । इन्डियन आयल कर्पोरेशनबाट भाउ बढेर आएपछि मूल्य समायोजन गरेको निगमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय