काठमाडौं– नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको संख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको संख्या १ लाख ४२ हजार २२३ छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार १२३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ हजार ११० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार ८८७, मदेशमा ११ हजार ७४०, गण्डकीमा १६ हजार ९७६, लुम्बिनीमा २० हजार १५८ र सुदूरपश्चिममा ८ हजार २२८ छ ।

अध्ययन प्रतिवेदनअनुसार यस्ता प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या ३ लाख ८७ हजार ७४७ रहेको छ । यो होटल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको संख्या हो ।

यो क्षेत्रबाट प्रत्यक्ष रोजगारी पाएका व्यक्तिको संख्या १ लाख ६ हजार ४५९ छ । होटल तथा रेस्टुरेन्टले कर्मचारीको वार्षिक तलब, ज्याला तथा सुविधामा २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब २ खर्ब १६ अर्ब ७३ करोड ८३ लाख बराबर लागत रहेको र करिब ३ खर्ब २६ अर्ब १ करोड ४ लाख रुपैयाँ मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब १ खर्ब ९ अर्ब २७ करोड १ लाख बराबरको मूल्य अभिवृद्धि (भ्यालु एड) गरेको देखिन्छ ।

अध्ययन प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ ।

यस्ता प्रतिष्ठानमध्ये करिब २८.४ प्रतिशतले वित्तिय संस्थासँग ऋण लिएको देखिन्छ भने ७१.६ प्रतिशत प्रतिष्ठानको ऋण नलिएको देखिएको छ ।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार यो सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित तारे होटल, रिसोर्ट, गैरतारे होटल, होमस्टेलगायतको अवस्था अध्ययन गरिएको थियो ।

होटलमा रहेको कोठा संख्या १ लाख १६ हजार १०० छ । जसमध्ये स्टार होटलमा ८ हजार ४९६ कोठा, गैरतारे होटल तथा लजमा १ लाख ७५, रिसोर्टमा ३ हजार ८२९ र होमस्टेमा ३ हजार ७०० कोठा रहेको यो अध्ययनले देखाएको छ ।

हाल नेपालमा सञ्चालित होटल तथा लजले एकैपटक २२ लाख ३४ हजार ८५२ जनालाई सेवा दिन सक्ने पनि अध्ययनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय