काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनलाई उद्धृत गर्दै सरकारी समाचार संस्था राससले जनाएको छ।
अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर र ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए ।