
काठमाडौं– पुस २३ गते बिहान तिब्बतको सिगात्सेलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट नेपालको पूर्वी भागमा पनि सामान्य क्षति भएको छ ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार थुलुङ दूधकोशी–७, देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुंगामाटोको गारो र ढुंगाकै छानो भएको दुईतले घरमा क्षति पुगेको छ ।
घटनास्थलतर्फ प्रहरी टोली खटाइएको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताएका छन् ।
सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको सोलुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताएका छन् ।
उता संखुवासभाको भोटखोला गाउँपालिका–१, किमाथांकामा एउटा घर भत्किएको छ ।
भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिएका छन् । जस्तापाताले छाएको शेर्पाको दुई तले ढुंगाको घरमा चिरा परेको उनले बताए । शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो । उनीहरु भने सकुशल छन् ।
भूकम्पबाट जिल्लामा मानविय क्षति नभएको प्रजिअ खड्काले बताए ।
सोलुखुम्बुमै सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिए । ढुंगाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक–एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण संकलन कार्य अघि बढाएको छ ।