
काठमाडौं– संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइराला धरौटीमा छुटेको भोलिपल्टै स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।
मोरङ प्रहरीले बिहीबार अनिललाई पक्राउ गरेको हो । पोखरेल पत्नी अन्जला कोइराला भने बुधबार घरौटीमा रिहा भएकी थिइन् । मंसिर २७ देखि फरार कोइराला बुधबारै अदालत पुगेकी थिइन् । अदालतले बुधबार नै उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही बमोजिम धरौटी बुझाएर उनी रिहा भइसकेकी छिन् ।
झन्डै एक महिनादेखि फरार रहेको व्यक्ति एकाएक अदालतमा उपस्थित हुनु, सोही दिन उनलाई धरौटीमा रिहा गर्न आदेश हुनुलाई राजनीतिक सत्तासँगको उनको सामिप्यताको परिणाम मानिएको छ । अन्जलामाथि सहकारी ठगीको आरोप छ ।
मोरङको रंगेली नगरपालिका २ का स्थायी बासिन्दा अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् । अनिलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
अनिलले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५, बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश दिएको थियो ।
ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका थिए ।