काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने अनुमति पाएको छ। सर्वसाधारणका लागि छुट्ट्याएको ३० प्रतिशतको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीको भागमा परेको सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिने बताइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २२ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशकि रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले सेयर निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले यसलाई केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।