
काठमाडौं– जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर गत बिहीबार हिरासतमुक्त भएका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।
अदालतको आदेशसँगै लामिछाने पक्षले धरौटी बुझाउने तयारी गरिरहेको छ ।
कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो । लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।