काठमाडौं– नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले गोदाममा कागज स्टक राखेर कृत्रिम अभाव खडा नगर्न सम्बद्ध व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल मुद्रण उद्योग महासंघ कर्णाली प्रदेशको प्रथम भेला तथा सुर्खेत मुद्रण उद्योग संघको वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्ने क्रममा गौतमले मूल्य वृद्धिसँगै कागजको आपूर्तिमा समस्या आएको भन्दै अनावश्यक स्टक नराख्न आग्रह गरेका हुन् ।

अध्यक्ष गौतमका अनुसार अहिले बजारमा लेख्ने र छाप्ने कागजको अभाव छ । अभावको बहानामा भएको कागज पनि लुकाई कालोबजारी गर्ने सम्भावना रहेको औंल्याउँदै उनले मुद्रण उद्योगी तथा व्यवसायीलाई अनावश्यक कागज नथुपार्न आग्रह गरे । कागज आयातकर्ता, डिलर र खुद्रा बिक्रेतालाई पनि कागज मौज्दात राखी अभाव खडा नगर्न तथा उपलब्ध कागज बिक्री गरी सहज आपूर्तिको वातावरण बनाउन उनले आग्रह गरे ।

उनले कागजको मूल्य वृद्धिसँगै मुद्रण कार्यको पनि मूल्य वृद्धि हुने स्थिति आएको बताए । मुद्रण कार्यको मूल्य मुख्य रुपमा कागजको मूल्यमा नै आधारित रहने भएकाले कागजको भाउ बढेसँगै मुद्रण कार्यको मूल्य स्वतः वृद्धि हुने उनको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष गौतमले व्यावसायिक एकता, संस्थागत विकास र क्षमता तथा व्यवसाय अभिवृद्घिको क्षेत्रमा महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

महासंघका उपाध्यक्ष हिमाकुमारी उपाध्यायकोे अध्यक्षतामा भएको सो कार्यक्रममा अध्यक्ष गौतमले मुद्रण उद्योग तथा व्यवसायको क्षेत्रमा एकपछि अर्को गर्दै सिर्जना भइरहेका समस्या समाधानका लगि व्यावसायिक एकताको आवश्यकता औंल्याए । सम्पूर्ण व्यवसायीलाई जिल्ला अन्तर्गतका संघ तथा वस्तुगत संघको माध्यमबाट महासंघको छातामुनि गोलबन्द हुन जोड दिए ।

विकास र समृद्धिको लागि स्वदेशी उद्योगको महत्त्वपूर्ण स्थान रहेको र त्यसका लागि मुद्रण उद्योग तथा व्यवसायको क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले सरकारी स्तरबाट पनि सोही अनुसारको व्यवहार हुनुपर्नेमा जोड दिए । विश्वमै द्रुत गतिमा भएको प्रविधि विकासलाई नेपाली मुद्रण उद्योगी, व्यवसायीले आत्मसात गरी अगाडि बढ्न सक्नु देशकै लागि नै खुसीको विषय भए पनि सरकारले अहिले पनि निजी स्तरबाट सञ्चालित स्वदेशी मुद्रण उद्योगलाई विश्वास नगरेको भन्दै उनले दुखेसो प्रकट गरे ।

नेपालमा दक्ष जनशक्ति र मुद्रणमैत्री वातावरणको अभावमा दु्रत गतिमा भएको प्रविधिको विकासले यस क्षेत्रलाई थप चुनौतीपूर्ण बनाउँदै लगेको र प्रविधि र गुणस्तरको दृष्टिले नेपालको मुद्रण व्यवसायले विश्वस्तरमा नै प्रतिस्पर्धा गर्न सक्ने भए तापनि मुद्रणका धेरै कार्यहरु अझै पनि विदेशमा गराइरहनु मुद्रण उद्योगी एवं व्यवसायीका लागि चुनौती र चिन्ताको विषय भएको उनले बताए । यसले राज्यलाई नै नोक्सानी भएको उनको भनाइ छ । ‘सम्भव भएसम्मका मुद्रणका सम्पूर्ण कार्य स्वदेशमा नै गराउन सरकारले नीतिगत निर्णय गरी मुद्रण उद्योगलाई प्रोत्साहित गर्नु जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय