काठमाडौं– विदेशमा बसोबास गर्ने नेपालीले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७७–७८ को साउनदेखि माघसम्ममा ५६७ अर्ब ७० करोड रुपैयाँ पठाएका छन् । अघिल्लो वर्षको तुलनमा यो १०.९ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सात महिनामा विप्रेषण आप्रवाह अघिल्लो सालको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

कोरोना महामारीका कारण रोजगारी र अध्ययनको सिलसिलामा बिदेसिने नेपालीको संख्या घटे पनि विप्रेषण आप्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो वर्षको सात महिनामा रोजगारीका लागि बिदेसिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अवैध हुन्डीमार्फत भित्रने रकम वैधानिक बाटोबाट आउन थालेकाले विदेश जाने नेपालीको संख्या तीन चौथाइले घटे पनि विप्रेषण बढेको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रमस्वीकृति लिने नेपालीको संख्या यस अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।

यस अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो । गत माघ मसान्तसम्ममा मुलुकको चालु खाता १०१ अर्ब ९० करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्बले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा छ ।

यस अवधिमा पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ७ अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको थियो ।

यस अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष ८१ करोड ७६ लाखले बचतमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय