काठमाडौं– देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिए पनि गत पुसको तुलनामा माघमा भने राजस्व संकलनमा गिरावट आएको छ ।

घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व संकलन भएको छ । गत पुसमा घरजग्गा कारोबारबाट ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजस्व संकलन भएको थियो । विभागका अनुसार गत मंसिरमा घरजग्गा कारोबारको राजस्व ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको ७ महिनाको विवरणअनुसार राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलना चालु आर्थिक वर्षको ७ महिनामा राजस्व संकलन झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म घरजग्गा कारोबारबाट २४ अर्ब ७१ करोड बराबर राजस्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा २१ अर्ब ६५ करोड बराबर राजस्व संकलन भएको थियो । गत माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो भने गत पुसमा त्यो संख्या ४८ हजार १५६ थियो ।

काठमाडौं उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ । सो कार्यालयले ३३ करोड ७४ लाख राजस्व संकलन गरेको विवरणमा देखिन्छ ।

यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख, कलंकी मालपोतबाट २६ करोड एक लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय