पोखरा– पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी अर्थात फोन पे क्युआर सेवा सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालिबीच मंगलबार क्युआर डिजिटल पार्टनरसिप सम्झौतामा हस्ताक्षर भएको हो ।

संघले यसअघि नै ई–सेवा र क्युआर कोडमार्फत सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाएको थियो । संघका अध्यक्ष नारायण कोइराला र ई–सेवा फोन पे प्रालिका प्रमुख रणनीतिक प्रबन्धक रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिन्दुकुमार थापाले डिजिटल भुक्तानी समयको माग भएको बताए । उनले डिजिटल भुक्तानी सेवाको स्तरोन्नति गर्दै नागरिकलाई शिक्षित बनाउनुपर्ने बताए । भ्रष्टाचार न्यूनीकरणका लागि डिजिटल भुक्तानीले सघाउने उनको भनाइ छ ।

संघका अध्यक्ष नारायण कोइरालाले संघले यसअघि नै सदस्यता नवीकरण ई–सेवामार्फत गर्दै आएको जनाउँदै डिजिटल भुक्तानीले समयको पनि बचत हुने धारणा राखे । प्रबन्धक लामिछानेले क्युआर कोडमार्फत भुक्तानी छिटोछरितो हुने, खुद्राको समस्या नहुने, पैसा कहाँ खर्च भयो भन्ने जानकारी सुरक्षित रहने बताए ।

मोबाइलमा ई–सेवा मोबाइल बैंकिङ एप्स डाउनलोड गरेर क्युआर कोड स्क्यान गर्न सकिन्छ । हाल ई–सेवा फोन पे प्रालिले ५१ वटा बैंकसँग सहकार्य गर्दै आइरहेको जनाउँदै उनले यो सेवा सुरक्षित र भरपर्दो भएको दाबी गरे । उनका अनुसार अहिले इ–सेवामार्फत सर्वसाधारणले रकम आदानप्रदान, बिजुली, पानी, टेलिफोनको महसुल भुक्तानी, मोबाइल रिचार्ज, इन्टरनेटको महसुल भुक्तानी, हवाई टिकट खरिद, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कूलको शुल्क बुझाउन र बजारमा सपिङ सेवा उपयोगी हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय