काठमाडौं– नागरिक लगानी कोषले पूर्वाधार र उत्पादनशील क्षेत्रमा लगानी परिचालन गर्नुपर्ने राजस्व सचिव रामशरण पुडासैनीले बताएका छन् । कोषको ३१औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पुँजी बजारको स्थायित्व, गतिशीलता र विकासका लागि कोषले थप काम गर्नुपर्ने समय आएको पनि बताए । उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधारस्तम्भ भएको धारणा राखे ।

कोष सञ्चालक समितिका अध्यक्ष रामचन्द्र भट्टराईले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कोषले सञ्चालनमा रहेका योजनाबाट एक खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी एक खर्ब ६३ अर्ब ३० करोड रुपैयाँ लगानी गरेको बताए । भट्टराईले उच्च आर्थिक विकासमार्फत बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने भन्दै यसको लागि कोषले आपूmलाई अझ सुदृढ बनाउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ काम गर्नुपर्ने बताए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर विराटनगर र पोखरामा शाखा कार्यालय सञ्चालन गरेको र सुदूरपश्चिम प्रदेशको अत्तरिया र लुम्बिनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई अन्य काम सुरु गरिसकेको बताए ।

कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा सुधार गर्न नयाँ सफ्टवेयर सञ्चालनमा ल्याइसकेको उनले जानकारी गराए । कोषको भौतिक, मानवीय र नियम कानुनका पूर्वाधारमा सुधार र संसोधन भइरहेको पनि बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कोषले कुल लगानीको ६-७ प्रतिशत मात्रै पुँजी बजारमा लगानी गरेको भन्दै उनले यो प्रतिशत १०-१२ प्रतिशतसम्म पुर्याउनुपर्नेमा जोड दिए । स्वदेशी मात्रै नभएर विदेसी स्रोत र साधन परिचालन गर्नुपर्ने आवश्यकता उनले औंल्याए । कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेले समग्र कर्मचारीको हकहितमा काम गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा कोषले सञ्चालन गरेका कार्यक्रममा कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानीकर्ता हिसाब योजना, निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष, राष्ट्रिय अनुसन्धान बिमा कोष तथा नागरिक पेन्सन योजना लगायत बारेमा जानकारी दिइएको थियो । योसँगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी ऋणपत्र तथा धितोपत्र लगानी जस्ता क्षेत्रमा कार्य गरी देशको कुल गार्हस्थ उत्पादनमा योगदान पुर्याउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय