हेटौंडा– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आठ उद्योगका सञ्चालकलाई खाद्य ऐनअनुसार कारवाही गर्न प्रक्रिया अघि बढाएको छ ।

ती उद्योगबाट उत्पादित खाद्यान्नको नमूनामा मापदण्ड विपरीत भेटिएकाले खाद्य ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ । कारवाही प्रक्रियामा रहेकामध्ये तीन उद्योगविरुद्ध मुद्दा दायर, चार मुद्दा प्रक्रियामा र एक मुद्दामा सञ्चालकलाई बयान लिएको छ । चालु आवको हालसम्म कपदही, चामल र दहीको तीन नमूना परीक्षण गर्दा लेबल अपूर्ण र न्यूनस्तर पाइएकाले मुद्दा दायर गरिएको कार्यालयका सूचना अधिकारी सिर्जना महर्जनले जानकारी दिइन् ।

दूध तथा दुग्ध पदार्थ, तेल तथा घ्यूजन्य, फल तथा सागपात, मसला, चियाकफी, नुन, खाद्यान्न–दलहनजन्य, प्रशोधित पिउनेपानी, गुलियो पदार्थ, कन्फेक्सनरी, मासु तथा मासुजन्य, दानालगायतको ६६ नमूना संकलन गरी परीक्षण गरिएको थियो । तीमध्ये आठवटा मापदण्ड विपरीत देखिएपछि तीन नमूनामा मुद्दा, चार नमूना मुद्दा प्रक्रियामा र एक बयान लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

कार्यालयमा दोस्रो चौमासिकसम्म विभिन्न शीर्षकमा तीन लाख ३२ हजार ७५० राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पाँच लाख ४० हजार ७६० राजस्व संकलन भएको र बेरुजु नरहेको कार्यालयले जनाएको छ । कार्यालयले आवश्यकतानुसार कार्यक्षेत्रमा अनुगमन, खाद्य तथा दाना नमूना संकलन तथा विश्लेषण, सूचना सन्देश प्रचारप्रसार, खाद्य तथा दाना अनुज्ञापत्र सिफारिस तथा जारी र नवीकरणका काम गर्दै आएको छ ।

कार्यालयका अनुसार खाद्य स्वच्छता अभियानमा होटल लोगो स्तरीकरण तथा नवीकरण, सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम र दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिँदै आएको छ । सो अवधिमा कार्यालयले विभिन्न खाद्य समूहका ३५ अनुज्ञापत्र जारी, ४३ नवीकरण, ११० सिफारिस गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिनुभयो ।

नेपालको तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत विसं २०३२ मा क्षेत्रीय खाद्य प्रयोगशालाको नामबाट मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्र परिसरमा यस कार्यालयको स्थापना भएको थियो । क्षेत्रीय कार्यालयहरुको अवधारणाअनुरुप नेपाल सरकार, कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत देशका पाँचै विकास क्षेत्रमा रहेका तत्कालीन क्षेत्रीय प्रयोगशालाको पुनः नामाकरण २०६० मंसिर ४ को मन्त्रिपरिषद् र २०६० चैत २३ को सामान्य प्रशासन मन्त्रालयको निर्णयानुसार क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रूपमा नामाकरण भई कार्यसञ्चालन गर्दै आएको थियो ।

तत्कालीन क्षेत्रीय खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको कार्यक्षेत्र अन्तर्गत धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरी नौ जिल्ला रहेका थिए । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, पर्सा र चितवन गरी ६ जिल्लामा खाद्य निरीक्षक एकाइसमेत स्थापित भई कार्यसञ्चालनमा रहेका थिए । विसं २०७५ असार ३२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट विभागको पुनःसंरचना तथा विस्तार भई हाल यस कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका रूपमा कायम छ ।

कार्यक्षेत्र अनुसार कार्यालयले खाद्य तथा दाना स्वच्छता तथा गुणस्तर नियमन खाद्य तथा दाना उद्योग स्थापनार्थ सिफारिस, अनुज्ञापत्र जारी तथा निरीक्षण, खाद्य स्वच्छता एवं गुणस्तरसम्बन्धी तालिम, प्रचारप्रसार, खाद्य तथा दाना उद्योग÷बजार निरीक्षण, नमूना संकलन र कारवाही, होटल रेस्टुरेन्ट, मिठाइ पसल अनुगमन निरीक्षण, खाद्य स्वच्छता एवं गुणस्तरसम्बन्धी उपभोक्ता शिक्षा तथा जनचेतना, खाद्य स्वच्छतासम्बन्धी दिवस, चाडपर्व, मेला लक्षित विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय