काठमाडौं– काठमाडौं महानगरपालिकासँगको साझेदारीमा उपत्यकाका सातवटा नगरपालिकाले आ–आफ्नो नगरभित्र धार्मिक र पर्यटकीय पार्क तथा उद्यान निर्माण गर्ने भएका छन् । सातमध्ये पाँचवटा नगरपालिकासँग काठमाडौं महानगरले बिहीबार सम्झौता गरी एक एक करोड रुपैयाँ उपलब्ध पनि गराइसकेको छ । बाँकी दुई नगरपालिकासँग छिट्टै सम्झौता गर्ने काठमाडौं महानगरको तयारी छ ।

राष्ट्रिय सभागृहमा बिहीबार सम्झौता भएलगत्तै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उनीहरुलाई चेक हस्तान्तरण गरेका छन् ।

काठमाडौं महानगरले २०७७/०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, तारकेश्वर, कीर्तिपुर र मध्यपुर थिमि नगरपालिकालाई धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।

काठमाडौंको आर्थिक सहयोगमा दक्षिणकाली नगरपालिका, वडा–५ गोरखनाथ डाँडामा निर्माणाधीन बहुद्देश्यीय उद्यान सम्पन्न हुनेछ । यसअघि उक्त उद्यान निर्माणका काठमाडौंले एक करोड सहयोग गरेको थियो । साझेदारी अन्तर्गत तारकेश्वर नगरपालिकाको वडा–५ को भ्युटावर र वडा–२ को तारकेश्वर राष्ट्रिय झन्डा पार्क निर्माण हुनेछ । महानगरले यसअघि तारकेश्वर धाम निर्माणका लागि एक करोड दिएको थियो ।

त्यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका, वडा–१ स्थित प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माण हुनेछ । कागेश्वरीलाई पनि काठमाडौंले यसअघि नै एक करोड नै सहयोग गरेको छ ।

कीर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क बन्नेछ । उक्त नगरपालिकाको भौगोलिक क्षेत्रभित्र रहेको वडा १,२ र १० लाई समेटेर करिब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भइरहेको छ ।

मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ को शंखधर पार्कलाई पनि काठमाडौंले थप एक करोड उपलब्ध गराएको छ । सो उद्यान निर्माणका लागि एक करोड रुपैयाँ यसअघि नै दिइसकेको छ । त्यहाँ पनि करिब १० रोपनी क्षेत्रफलमा मन्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ ।

भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौं महानगरपालिकाले ताथलीमा उद्यान निर्माण गर्न एक करोड नै दिने छ । सो नगरपालिकाका प्रमुख उपत्यकाबाहिर रहेकाले छिट्टै सो सम्झौतामा पनि हस्ताक्षर गर्ने काठमाडौंका प्रमुख शाक्यले जानकारी दिए ।

चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा पार्क निर्माण हुनेछ । उक्त नगरपालिकाका प्रमुख पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि सो नगरपालिकासँग पनि पछि सम्झौता गर्ने काठमाडौंको तयारी छ । चन्द्रागिरिलाई मदन भण्डारी पार्क निर्माण गर्न काठमाडौंले यसअघि पनि एक करोड नै सहयोग गरेको थियो ।

केही समयअघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि प्रमुख शाक्यले सो क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड ५० लाखको चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय