
काठमाडौं– प्रतिष्ठित व्यवसायी रमेश गुप्ताले सुरु गरेको व्यावसायिक साम्राज्यलाई अझ विस्तार गर्न उनका छोराहरुले रमेश कर्प नामको व्यावसायिक घराना सार्वजनिक गरेका छन् । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी रमेश कर्प घोषणा गरिएको हो ।
स्वर्गीय बुबाको विरासत कायम राख्न रमेश कर्प स्थापना गरिएको उक्त कार्यक्रममा रमेशका छोरा तथा रमेश कर्पका उपाध्यक्ष सुशील गुप्ताले बताए ।
व्यवसायमा सफल रमेश गुप्ताको नामबाट स्थापित रमेश कर्पको ट्यागलाइन ‘फर्वार्ड टुगेदर’ले व्यावसायिक क्षेत्रमा नयाँ आयाम थप्ने सुशीलको भनाइ छ । रमेश कर्पमा विभिन्न विधाका १४ वटा व्यावसायिक प्रतिष्ठान समावेश भएको उनले जानकारी दिए ।
रमेश कर्पका अर्का उपाध्यक्ष रोहित गुप्ताले बुबाले टायरको कारोबारबाट सुरु गरेको व्यवसाय निरन्तर सफल भई आजको अवस्थामा आइपुगेको र यसले तीन हजारभन्दा बढीलाई रोजगारी दिइरहेको बताए ।
रमेश कर्प मातहत कन्जुमर गुड्स, बैंकिङ, रियल स्टेट, मोबाइल फोन, इन्स्योरेन्स, निर्माण उपकरण, सिमेन्ट, ई–कमर्स, स्पोर्टस, केबल्स, क्लाउड एन्ड आइटी, इन्भेस्टमेन्ट, हाइड्रोपावर, खानी लगायत कम्पनी छन् ।
‘हाम्रो यो नयाँ सुरुआत वास्तवमै विशेष हो । यसले हाम्रो ब्रान्डको विकासको महŒवपूर्ण चरणलाई प्रतिनिधित्व गरेको छ । बुबाको दर्शन एवं सिद्धान्तलाई आत्मसात गर्दै वहाँको दृष्टिलाई आधार मानेर भविष्यलाई आकार दिइरहेका छौं,’ कार्यक्रममा उपाध्यक्ष सुशीलले भने, ‘फर्वार्ड टुगेदर दर्शनको साथ हामी नयाँ उचाइमा पुग्न उत्कृष्ट प्रणाली स्थापना गर्न चाहन्छौं ।’ पाँच दशकअगाडि हार्डवेयर व्यवसायबाट सुरु भएको रमेश कर्प आज जीवनका अधिकांश पक्षलाई समेट्ने व्यावसायिक घराना बनेको उनले बताए ।
रमेश गुप्ता मेमोरियल ट्रस्टमार्फत क्यान्सरपीडित बालबालिकाको उपचार तथा रोग नियन्त्रणको लागि काम पनि काम गरिरहेको सुशीलले जानकारी दिए । कम्पनी संस्थापक रमेशको क्यान्सरबाट सन् २०१८ मा निधन भएको थियो ।
अहिले रमेश कर्पमा समेटिएका कम्पनीहरु हालसम्म लक्की ग्रुप अन्तर्गत थिए । लक्की ग्रुप हाल नेपाल उद्योग परिसंघका अध्यक्ष रहेका सतीषकुमार मोर र रमेश गुप्ताको साझेदारीमा स्थापित व्यावसायिक समूह हो ।